गुम्बज शैलीको बौद्धनाथ स्तूप चारपाटे शिखरले ढाकिएको छ । यसका सबै पाटाहरूमा चार दिशातपर्फ नियालिरहेका, बुद्धका आँखा भनेर चिनिने रहस्यमय छविहरू अंकित छन् । यस्तो छवि नेपालमा वहुप्रचलित र लोकप्रिय प्रतीकहरू मध्येमा पर्दछ जसले बौद्धनाथ स्तूपको मनमोहकतालाई अझ चम्काएको छ । लिच्छवि हाउस परिसरका तहतहहरूबाट प्राप्त हुने दृष्यावलोकनको अवसरले स्तूपको त्यो उत्कृष्ट कलाकृतिलाई गहनातापूर्वक मनन् गर्ने मौका दिन्छ । भनिन्छ कि बुद्धका आँखाहरू एक पटक मात्र दर्शन गर्दा पनि आध्यात्मिक मुक्ति मिल्दछ ।
बौद्धनाथ सम्भवतः विश्वको सबैभन्दा ठूलो बौद्ध स्तूपमा पर्दछ । यसलाई युनेस्कोले विश्व सम्पदा स्मारकको रूपमा सूचीबद्ध गरेको छ। सेतो रङले पोतिएको विशाल गुम्बज आकारको यस स्तूप उत्साहका साथ परिक्रमा गर्ने मानिसहरूका प्रार्थना, मन्त्रोच्चारण तथा संवादले फस्टाउँदै गरेको तीर्थस्थलको रूपमा झकिझकाउ र जीवन्त छ । यहाँ तीर्थालुहरू आफ्नो दायाँतर्फ भव्य स्तूपका दिवार तथा प्रार्थना गर्दै खरखर आवाजका साथ घुमाइने मानेहरू र वायाँतर्फ बौद्धप्रेमीहरूका लागि लक्षित गरी सजाइएका सामग्रीहरूले भरिभराउ एवं व्यस्त पसलहरूको बीचमा संसार र दु:खपारको एकताबद्ध मार्गमा शान्तिपूर्वक घुम्छन् । स्तूपको उत्तरी मोहोडामा राखिएको विशाल धूपदानीमा एकत्रित भएर जल्दै गरेका उच्चतम धूपहरूका मगगमगाउँदो सुगन्ध हिमालयको हावामा फहराउने प्रार्थनाका झण्डाहरूसँग मिसिनका लागि माथिमाथि उडेर आकाशमा विलीन भइरहेको हुन्छ ।
बौद्धनाथ स्तूपको जगको कथा नेपाली र तिब्बती दुवै स्रोतबाट अनेक किंवदन्तीहरूका रूपमा यत्रतत्र छाएको देखिन्छ। तीमध्येको तिब्बतीहरूमाझ प्रख्यात संभवत सबैभन्दा लोकप्रिय स्रोतमा आधारित एउटा कथा यस्तो छ: एक गरिब किसान परिवारकी विधवा महिला शाक्यमुनिका पूर्ववर्ती बुद्ध कश्यपका शरीरधातुहरू राख्नको लागि उपयुक्त संरचना निर्माण गर्न चाहन्थिन् । उनलाई त्यो महान लक्ष्यको नेतृत्व गरेको नसहने स्थानीय टाठाबाठाहरूको ईर्ष्याको सामना गर्नुपर्ने परिस्थिति देखा पर्छ । तर ती महिलाले बुद्धिमतापूर्वक त्यस्ता मानिसहरूको ईर्ष्यालाई परास्त गरेर त्यस कामको थालनी गर्नमा राजाको समर्थन जित्छिन् । फलस्वरूप स्तूपको निर्माण शुरु हुन्छ र अन्ततः उनका चार छोराहरूले नै सम्पन्न गर्छन् । उनीहरू तिनै थिए जसले भावी जीवनमा धर्मको सेवा गर्ने तीव्र प्रणिधानको बलमा शताब्दीयौं पछि तिब्बतमा बौद्ध धर्म स्थापना गर्ने चार नेताहरूको रूपमा पुनर्जन्म पाए । उनीहरू हुन्: राजा त्रिसोङ देउसेन, बोधिसत्व शान्तरक्षित, गुरु पद्मसंभव र अनुवादक वैरोचन । तसर्थ यस महान स्तूपमा गरिएको कामना अवश्य पूरा हुन्छ भनिएको छ ।
शताब्दीयौंसम्म – विशेषगरी लिच्छवी राजवंश (ईस्वीको चोथोदेखि आठौं शताब्दी) को समयमा नेपालीहरूले तिब्बत र भारत बीचको कठिन यात्रामा व्यापारी, खोजकर्ता र अन्वेषकहरूका लागि एक शान्त आश्रय तथा भेटघाट स्थलको रूपमा बौद्धनाथ स्तूपको फैलँदो परिसरलाई उपयोग गरे । त्यतिबेला नै धेरैले ध्यान नदिइसकेको काठमाडौं उपत्यका दक्षिण र मध्य एशियालाई जोड्ने प्रमुख सांस्कृतिक, व्यापारिक, आध्यात्मिक र बौद्धिक केन्द्र बनिसकेको थियो ।
जसरी बौद्धनाथ स्तूपको मण्डलाकार स्थानको वरिपरि निरन्तर जीवन चलिरहेको छ, उसरी नै व्यापक मानवीय जमघटका विचार, भावना, कथा, आकांक्षा र पीडालाई सँगाल्दै, अँगाल्दै र मन्थन गर्दै विगतको सकारात्मक उर्जाको शक्तिले आर्जेको स्रोतकेन्द्रको रूपमा सानो तर सक्रिय स्तरमा लिच्छवि हाउसले काम गर्न चाहन्छ । यस अद्वितीय स्थलको ऊर्जाबाट अभिसिञ्चित भई मानवीय मूल्यको समग्र विकास मार्फत् भविष्यलाई अझ उन्नत बनाउने अमूल्य अवसरमा रूपमा यसलाई सदुपयोग गरिँदैछ । यसप्रकार आजको अपरिहार्य आवश्यकता अनुसार सद्भावपूर्ण जीवनको मिलन मण्डल निर्माण गर्ने तरिकाका रूपमा अपनाएर स्थानीय इतिहास र परम्परालाई कदर गर्नु यसको अभिप्राय हो ।