“काठमाडौंमा अवस्थित लिच्छवि हाउस ऐतिहासिक, पुरातात्विक आध्यात्मिक र पारिवारिक प्रतीकात्मकताले भरिपूर्ण छ ।

प्रथमत: हामी लिच्छवि हाउसले नेपाल आफैंले विश्वलाई दिन सक्ने उल्लेखनीय उपहारको प्रतिनिधित्व गर्ने अपेक्षा राख्दछौं । नेपालीहरुसँग २१ औँ शताब्दीको यो द्रूत गतिमा वाहिरी प्रभाव र अनुकूलनको विकल्प नभए पनि नेपाल देश र यहाँका जनताले अझै पनि आफ्नो प्राचीन आध्यात्मिक र सांस्कृतिक सम्पदालाई चामत्कारिक ढंगले जीवन्त र सक्रिय राखेका छन् ।

संसारका धेरैलाई आकर्षित गर्ने हिमाल र पदयात्रा बाहेक, नेपाली मन्दिरका घण्टीहरू अझै पनि बज्छन् र हावामा धूपको सुगन्ध छर्दै जवानदेखि वृद्धावस्थासम्मका श्रद्धालुजनहरू शताब्दीयौं पुराना स्तूपहरूको युगौंअघि जसरी नै उत्साहपूर्ण परिक्रमा गर्छन् ।

यहाँको इतिहास र संस्कृतिमा बुद्ध धर्मको जरा गहिरोसँग गाडिएको हुनाले सबै परम्पराका प्रख्यात आध्यात्मिक गुरुहरूले आफ्नो स्थानको रूपमा छनौट गरेको ठाउँ हो नेपाल । यो देश हजारौं वर्ष पहिले हिमालयका केही महान् योगी र विद्वानहरूले आवागमन र विश्राम गरेको मुख्य संगमस्थल थियो । आजसम्म पनि यो भूमि बुद्ध धर्ममा सर्वाधिक महत्त्वपूर्ण प्रभाव र प्रेरणाहरूको मिलनबिन्दु बनेको छ ।

आजको सिमानाका आधारमा निश्चय नै नेपालले गर्वका साथ राजकुमार सिद्धार्थको जन्मभूमि र विश्वलाई शाक्यमुनि बुद्ध दिने राष्ट्र भएको दाबी गर्न सक्छ ।

लिच्छवि हाउसले आधुनिकतातर्फ उन्मुख नेपालीहरुलाई आफ्नो देशको असाधारण प्राचीन सम्पदाको सम्मान गर्ने मौलिक संस्कार कायम राख्दै यसमार्फत् विश्वलाई नै उच्च योगदान पुर्‍याउनमा उत्सवमय अवसर सुनिश्चित गर्नेछ ।

यस केन्द्रको नाम हामीले लिच्छवि हाउस नै रोज्नुको पछाडि एउटा गहन कारण छ- शाब्दिक रूपमा हाम्रो इतिहाससँग पारिवारिक सम्बन्धसेतु सिर्जना गर्नु । लगभग ईस्वी संवत् ४०० देखि ७५० सम्म काठमाडौं उपत्यकामा लिच्छवी कुलको शासन थियो । त्यस कालखण्डका लिच्छवि शासकहरूले तिब्बत र मध्य एशियामा व्यापार, तीर्थयात्रा र धर्मदेशक गुरुहरू मार्फत् बौद्ध धर्म फैलाउन अभूतपूर्व योगदान गरे ।

बुद्धको समयमा दक्षिण नेपाल र उत्तर बिहारमा प्रभावशाली कुलका रूपमा रहेका लिच्छविहरू भगवान् बुद्धका सबैभन्दा समर्पित शिष्यहरू र उदार संरक्षकहरू मध्येका थिए जसलाई शाक्यमुनि बुद्धका गहन शिक्षाले नै त्यो अवस्थामा पुर्‍याएको थियो । वास्तवमा गौतम बुद्धकी आमा मायादेवी पनि लिच्छवी नै थिइन् ।

लिच्छवि हाउस आफैं भृकुटी देवी ट्रस्टको एउटा परियोजना हो, जुन संस्थालाई काठमाडौं उपत्यकाको लिच्छवि राज्यकी नेपाली राजकुमारीको नाममा नामकरण गरिएको थियो । राजकुमारी भृकुटीले ईस्वी संवत् ६२१ मा तिब्बतका राजा स्रोङचन गम्पोसँग विवाह गरेकी थिइन् । बौद्ध देवी ताराको प्रतिरूप पनि मानिने भृकुटी देवीले तिब्बती राजाहरूमा सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक प्रभावशाली राजा एवं अत्यन्त समर्पित बौद्ध उपासक समेत रहेका आफ्ना श्रीमानको साथ पाएर नै तिब्बतमा बौद्ध मन्दिरहरू निर्माण गर्न र बुद्ध धर्मको स्थापना गर्नमा अथक परिश्रम गरिन् ।

कला, चलचित्र, लेखन, फोटोग्राफी र अन्य रचनात्मक कार्यशालाहरूको साथसाथै नेपालको प्राचीन ज्ञान परम्पराको अध्ययन, छलफल र अभ्यासलाई मलजल गर्दै हाम्रो आधुनिक संसारसँग पूर्ण रूपमा जोडिएर यस उल्लेखनीय प्राचीन सम्पदालाई जीवन्त उत्सवका रूपमा मनाउने लक्ष्य लिच्छवि हाउसले राखेको छ ।

त्यसका लागि लिच्छवि हाउस एउटा यस्तो ठाउँ होस् भन्ने हामी चाहन्छौं जसले युवा उमेरका विशेष गरी केटीहरू तथा सबै उमेरका पुरुषहरू एवं शिक्षक, उद्यमी, व्यवसायी र मजदूरदेखि विद्यार्थीहरूसम्मलाई आफ्नैपनमा रमाउँदै ज्ञान र सम्पदा चिन्ने मौका प्रदान गरोस् । त्यसका साथै सबैखालका आम सर्वसाधारण जो आफू जे जस्तो छन् त्यसैमा सहज महसुस गर्न र एकअर्काको संगतमा रमाइलो गर्न रुचाउँछन्, उनीहरू सबैले सामूहिक रूपमा उत्कृष्ट सम्पदाको विषयमा सिक्ने, अभ्यास गर्ने र गर्व गर्ने साझा थलोका रूपमा यसको निस्फिक्री उपयोग गर्न सकून् ।

यथार्थमा लिच्छवि हाउस काठमाडौको एक जीवन्त सांस्कृतिक केन्द्र हो जहाँ एक दर्शनीय परिवेश र साँच्चै खुला तथा सहज र मनमोहक वातावरण छ । यसले ध्यानसामुदायिक सवालहरू र नेपालको समृद्ध आध्यात्मिक परम्पराहरूका विषयमा छोटो अवधिका सिकाइ कक्षाहरू पनि प्रदान गर्नेछ । त्यस्ता झुकावहरूलाई थप गहिर्‍याउन विशिष्ट अध्ययन र अभ्यासका गहन शिविरहरू आवश्यक परेमा ती अवसरहरूलाई पनि सहज बनाउँदछ ।” 

संस्थापक जोङ्सार जाम्याङ खिन्से रिन्पोछे

जोङ्सार जाम्याङ खिन्से रिन्पोछे

फिल्म निर्माता? फोटोग्राफर? फुटबल प्रशंसक? पहिचान महत्त्वपूर्ण हुने संसारमा, जोङ्सार जाम्याङ खिन्से रिन्पोछेको सार खिच्ने एउटा मात्र पक्ष खोज्नु शाब्दिक रूपमा असम्भव काम जस्तो देखिन्छ । तर वास्तवमा, यो हामीले सोचेजति सरल हुन सक्दैन । पहिलो र प्रमुख कुरा, खिन्से रिन्पोछे बौद्ध गुरु हुनुहुन्छ र यो भूमिकामा सधैं रहिरहनुहुनेछ । उहाँका अन्य सबै चर्याहरू यही मूल लक्ष्यका लागि समर्पित रचनात्मक प्रतिक्रियाहरू मात्र हुन् ।

खिन्से रिन्पोछे भुटान निवासी, उहाँकै शब्दमा ‘कट्टर बौद्ध परिवार’ मा जन्मिनुभएको थियो । सात वर्षको उमेरमा, उहाँलाई परम पावन क्याब्गोन गोङ्मा ट्रीचेन रिन्पोछे (४१ औं शाक्य ट्रिजिन) ले जाम्याङ खिन्से वाङ्पोका १९ औं शताब्दीका सबैभन्दा प्रभावशाली र प्रशंसनीय आध्यात्मिक उत्तराधिकारी जोङ्सार जाम्याङ खिन्से चोकी लोड्रोको मुख्य अवतारको रूपमा मान्यता प्रदान गर्नुभयो । १९८० को दशकको प्रारम्भमा, रिन्पोछेले अष्ट्रेलियामा धर्म देशनाका लागि आफ्नो पहिलो विदेश यात्रा गर्नुभयो । त्यसयता आफ्ना योगदानहरूको दायरालाई बलियो र फराकिलो बनाउन थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरू स्थापना गर्दै  मूल लक्ष्य र आशय पूरा गर्ने यात्रामा उहाँको यात्रा अविराम जारी छ ।

तिनै संस्थामध्येको सिद्धार्थज् इन्टेन्टले रिन्पोछेबाट प्रदान गरिएका शिक्षाहरूको व्यवस्थापन, वितरण र अभिलेखीकरण गर्दछ । त्यस्तैगरी खिन्से फाउन्डेसनले उहाँका सत्वकल्याण केन्द्रित आकांक्षाहरू पूरा गर्न आवश्यक आर्थिक सहयोग प्रदान गर्नुका साथै विश्वका आधुनिक भाषाहरूमा बुद्धका वचनको अनुवाद गर्ने परियोजना 84000 को रेखदेख गर्दछ । अर्को संस्ठा लोटस आउटरिचले शरणार्थीहरू तथा विशेष गरी दुर्व्यवहारमा परेका र अपाङ्गता भएका महिला र बालबालिकाहरूलाई मद्दत गर्ने विभिन्न परियोजनाहरूलाई सहयोग एवं मार्गदर्शन प्रदान गर्दछ । त्यसबाहेक शिक्षाको माध्यमबाट भुटानमा दिगो विकासलाई प्रवर्द्धन गर्न सन् २०१० मा स्थापना गरिएको लोमन सोसाइटी पनि रिन्पोछेको हालैका पहलहरूमध्ये एक हो ।

रिन्पोछे बौद्ध धर्म सम्बन्धी धेरै पुस्तकहरूका लेखक हुनुहुन्छ जुन धेरै भाषाहरूमा अनुवाद गरिएका छन् । उदाहरणका लागि: ‘पोइजन इज मेडिसिन’  (२०२१), ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’  (२००६), ‘नट फर ह्याप्पिनेस’  (२०१२) र ‘द गुरु ड्रिङ्क्स् बर्बन?’ (२०१६) उहाँका केही प्रख्यात पुस्तकहरू हुन् । आफ्नो लेखन र निर्देशन रहेका फिचर फिल्महरू ‘द कप’ (१९९९), ‘ट्राभलर्स एन्ड म्याजिशियन्स’ (२००४), ‘वरा: अ ब्लेसिंङ’ (२०१३), ‘हेमा हेमा’ (२०१६) र ‘लुकिंङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टास’ (२०१९) का माध्यमबाट बौद्ध जगत बाहिर पनि रिन्पोछे सुविख्यात हुनुहुन्छ ।