काठमाडौंको बौद्धमा विपुल क्षेत्रीको प्रस्तुति

काठमाडौँ — कालिम्पोङका नेपालीभाषी भारतीय गायक विपुल क्षेत्री शनिबार साँझ बौद्धमा देखापरे । विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्य समेत रहेका क्षेत्री विश्व सम्पदा सूचीमा रहेको बौद्धको फन्को मारेर एउटा गल्ली हुँदै अघि बढे । त्यहाँ थियो, बौद्धमार्गीहरूको एउटा भव्य कार्यक्रम ।

पंचतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर विपुल गितार बोकेर स्टेजमा चढे । त्यही बेला उद्घोषकले सुनाइदिए, आज वहाँको बर्थ डे पनि हो ।

गीत सुन्न तयार भएकाहरू स्रोताहरूले एकै स्वरमा चिच्चाउँदै भने, ह्याप्पी बर्थ डे विपुल । ह्याप्पी बर्थ डे ।

काठमाडौंवासीको बर्थ डे विसलाई छातीमा हात राखेर धेरैबेरसम्म विपुलले स्विकारिरहे । अनि गीतारको कर्डमा औँलाहरू नचाउँदै गाउन थाले । उनले सुरुमा हावा चल्यो यहाँ बेसरी, हल्लियो बाँसघारी, उडीजाउँ भने चरी म हैन, बस्न पनि यहाँ मन छैन …बोलको गीत गाए । त्यसपछि उनले अरु दुई गीत गाएर स्टेजबाट ओर्लिने तयारीमा लागे । तर दर्शकहरूको धित मरेन । सबैले वान्स मोर भनेपछि उनले फेरि अर्को गीत पनि गुनुगुनाए ।

अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमि पुजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए । शनिबार काठमाडौं आएका विपुल आइतबार बिहानै दिल्ली फर्किएका छन् ।