‘लिच्छवि हाउस’ नाम एउटा कारणले छनोट गरिएको थियो: शाब्दिक रूपमा, स्थानीय इतिहाससँग पारिवारिक बन्धन सिर्जना गर्न । लगभग ४०० देखि ७५० ईस्वीसम्म लिच्छवि वंशले काठमाडौं उपत्यकामा शासन गर्यो र त्यसबेला तिब्बत तथा मध्य एशियामा व्यापार एवं तीर्थयात्रा मार्गहरू मार्फत् बौद्ध धर्मको प्रसारमा योगदान पुर्यायो ।
लिच्छविहरू बुद्धको समयमा दक्षिण नेपाल र उत्तर बिहारमा एक प्रभावशाली कुलवंशमा गनिन्थे । उनीहरू शाक्यमुनि बुद्धका मुख्य समर्पित शिष्यहरूका साथै उदार संरक्षकहरू पनि थिए । वास्तवमा बुद्धकी आमा मायादेवी पनि लिच्छवी नै थिइन् ।
लिच्छवी हाउस आफैंमा भृकुटी देवी ट्रस्टको एउटा परियोजना हो जसको नाम नेपाली लिच्छवि राज्यकी राजकुमारीको नाममा राखिएको छ । राजकुमारी भृकुटी तिनै हुन् जसले इस्वी संवत् ६२१ मा तिब्बतका राजा स्रोङचन गम्पोसँग विवाह गरेकी थिइन् । तिब्बती राजकुलमा सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक प्रभाव पार्न सफल एक उत्कट बौद्ध अभ्यासी र ताराकी प्रतिरूप समेत मानिने भृकुटी देवीले तिब्बतमा मन्दिरहरू निर्माण गर्न र बौद्ध धर्मको संरक्षण गर्न अथक प्रयास गरिन् । उनको पालामा ‘ल्हासा नेवार’ उपनामका हजारौं नेपाली व्यापारीहरू तिब्बतमा बसोबास गरे, जसले दुई देशको संस्कृतिलाई घनिष्ठ बनाई दिगो बन्धनले जोड्न मद्दत गरे ।
नेपालमा लिच्छवी युगलाई शान्ति, समृद्धि र स्थिरताको स्वर्णयुगको रूपमा स्मरण गरिन्छ जहाँ अध्यात्म, संस्कृति, वास्तुकला र साहित्यको कदर तथा संवर्द्धन गरिएको थियो । स्वतन्त्रता, निष्पक्षता र उत्कृष्ट कलात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने समृद्ध लिच्छवि समाजका लागि धार्मिक सहिष्णुता, सांस्कृतिक सद्भाव र लैङ्गिक समानता सबै महत्त्वपूर्ण थिए । त्यस कालखण्डमा भारत र तिब्बतका शक्तिशाली छिमेकीहरूसँगको युद्धलाई पनि सावधानीपूर्वक कूटनीतिद्वारा न्यूनीकरण गरिएको थियो ।
लिच्छवि हाउसले कला, सिनेमा, लेखन, फोटोग्राफी र अन्य सृजनात्मक सीपको अध्ययन र अभ्यासमार्फत् नेपालको प्राचीन ज्ञान र परम्परालाई परिपोषित गर्नेछ। यो एक मैत्रीपूर्ण विश्रामको थलो हुनेछ जहाँ सबै उमेरका महिला र पुरुषहरू, शिक्षकहरू, उद्यमीहरू, श्रमिकहरू र विद्यार्थीहरूले सामूहिक रूपमा उत्सवमय क्षण विताउनेछन् र उनीहरूले विदेशी आगन्तुकहरूसँग पनि आधुनिक संसारसापेक्ष तवरबाट आफ्नो असाधारण सम्पदाको स्वाद र सुगन्ध बाँड्नेछन् ।