Menu
यो स्ठल बौद्धनाथ स्तूप को भित्री गर्भगृहमा अद्वितीय रूपमा अवस्थित छ । युनेस्कोको विश्व सम्पदा सूचीमा आवद्ध स्मारक स्थलमा अवस्थित हुनुका नाताले लिच्छवि हाउसको निर्माणमा उपयुक्त वास्तुकला चयनतर्फ विशेष ध्यान दिनु अत्यावश्यक थियो । तदनुरूप नै प्रतिष्ठित अवार्ड-विजेता वास्तुकार क्रिस याओ ले पुरानो स्मारकका परिवेशहरूको झल्को दिनमा कुनै कसर बाँकी राख्नुभएको छैन । त्यसअतिरिक्त फुर्सदको उच्चतम सदुपयोग, सिकाइ आदानप्रदान र आध्यात्मिक संस्कृतिसँगको फराकिलो समागमका लागि आधुनिकताको सान्दर्भिक मिश्रण सहित चित्ताकर्षक थलोको अभाव पूरा गर्ने हेतुका साथ उहाँले यस भव्य भवनको रूपरेखा तयार पार्नुभएको छ ।
वास्तुकारको शब्दमा
“आगन्तुकहरू परम्परागत पसल अगाडिको भवन हुँदै लिच्छवी हाउसमा प्रवेश गर्छन् । यसको भुइँतल्ला स्वागत सत्कारले युक्त खुला क्षेत्र हो जसमा स्वागत कक्ष र सूचना केन्द्र समावेश छ । यसको माथि, ललितकला र शिल्पको ग्यालरीले झकिझकाउ दुई तला बराबरको उचाइ ओगटेको एउटै फाकट देखा पर्छ । स्वागत कक्ष पार गरेपछि एउटा रातो रङको खुला वर्गाकार ट्युब आउँछ जसको लम्बाइ ३३ मिटर छ । यसको अन्त्यमा गान्धार शैलीमा बनेको बुद्ध मूर्ति खडा छ । वर्गाकार ट्युब क्षेत्र पुरानो काठमाडौंबाट नयाँमा रूपान्तरण भएको प्रतीकको रूपमा बनाइएको हो । यसरी आधुनिकतामा मनोरम र अमूर्ततामा न्यूनतम कलाले युक्त वास्तु सुविधाले आगन्तुकहरूलाई बाहिरी संसारबाट एकदमै भिन्न अनुभूति प्रदान गर्दछ । ’cause यो भगवान् बुद्धमा समर्पित एक विशिष्ट स्मारक स्थल हो । अहिलेसम्म वर्णन गरिएको प्रारम्भिक खण्डले सिंगो भवनको बाँकी भागलाई जोड्ने केन्द्रविन्दुको काम पनि गर्दछ।
ट्युबबाट दायाँ घुम्दा “आवासीय” क्षेत्रमा पुगिन्छ जसको भुइँतल्लामा क्याफे र रेस्टुरेन्टले आतिथ्य गर्दछ भने माथिल्लो तलाका तहहरूमा केही अतिथि कोठाहरू छन् । यी कोठाहरू पूर्ण गोपनीयताले युक्त एकान्तबासको सुविधा उपलब्ध गराउने विशेषता सहित डिजाइन गरिएका हुन् । कोठाहरूबाट तीनतले भवनको भुइँदेखि छतसम्मको उचाइमा एकत्रित भित्तेचित्रको भव्यता हेर्दा चाहिँ गोपनीयताका बीच पनि ‘खुलस्त रिट्रिट’ को परिवेश बोध हुन पुग्छ ।
ट्युबबाट बायाँ घुमेर लिच्छवी हाउसको सार्वजनिक स्थान “फोरम” मा पुगिन्छ । यसको भुइँतल्लामा प्रेक्षालय, थिएटर वा प्रवचन हलको रूपमा प्रयुक्त डबली छ जहाँ जमघट, शिक्षण/प्रवचन, चलचित्र प्रदर्शन, गीतसङ्गीतका कार्यक्रम र अन्य प्रदर्शनको क्रममा १०० जनासम्म अटाउँछन् । त्यसको आडैमा रहेको एउटा सिँढीबाट माथिल्ला तलाहरूमा उक्लिएपछि सामूहिक सहकार्य कक्ष, योग स्टुडियो र ध्यान हलमा पुगिन्छ । ध्यान हलबाट आगन्तुकहरूले बौद्धनाथ स्तूपको उत्कृष्ट दर्शनका साथै शहरका मनोरम दृश्यहरू नियाल्न सक्छन् ।”
निर्माण सामग्री
लिच्छवि हाउस निर्माणमा ट्युब बाहेक स्थानीय इँटालाई मुख्य आवरण सामग्रीको रूपमा प्रयोग गरिनेछ । भवनका केही भागहरूमा, प्राकृतिक प्रकाश आवतजावतका लागि इँटा बिछ्याएर भ्यान्टिलेसन बनाउने परम्परागत विधिहरू प्रयोग गरिनेछ । तलमाथि गर्न हल्का तौलको स्टिलका सिँढीहरू र माथिल्ला तलाहरूमा वारपार गर्नका लागि पुलहरू परिसरभरि नै प्रयोग गरिनेछ । आवास खण्डमा रहने ५ भित्तामा छानिएका सिद्धहस्त कलाकारहरूबाट हातले निर्मित कलाकृतिहरू सिर्जना गरिनेछन् ।
क्रिस याओ ताइवानको ताइपेई र चीनको सांघाईमा कार्यालयहरू भएको एशिया महादेशमा आधारित आर्किटेक्चर फर्म ‘क्रिस याओ आर्टेक’ का संस्थापक हुनुहुन्छ । उहाँले तुङ्घाई विश्वविद्यालयबाट वास्तुकलामा स्नातक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट वास्तुकलामा स्नातकोत्तर गर्नुभएको छ । श्री याओका परियोजनाहरू मुख्यतया विशाल चीन क्षेत्रमा अवस्थित छन् । त्यसका अतिरिक्त संयुक्त राज्य अमेरिका, युरोप र दक्षिण एशियामा पनि उनका वास्तु कौशलहरू फेला पार्न सकिन्छ ।
आफ्नो करिब ४० वर्षको वास्तु साधनाका दौरान श्री याओले धेरै पुरस्कार र मान पदवीहरू प्राप्त गरिसक्नुभएको छ । सन् २००७ मा याओलाई ताइवानी कलाको लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो, जुन राष्ट्रिय संस्कृति र कला प्रतिष्ठानले दिएको सर्वोच्च सम्मान हो । २०१४ मा उहाँले अमेरिकन इन्स्टिच्युट अफ आर्किटेक्ट्स (एआईए) बाट प्रतिष्ठित अनरेरी फेलोशिप प्राप्त गर्नुभयो । एआईएले उहाँलाई एक वास्तुकारको रूपमा कदर गर्दै भनेको थियो,- “उहाँ मानव चिन्तन र अवस्था, सांस्कृतिक र ऐतिहासिक सन्दर्भ तथा स्तर र स्थानको भावनालाई सही मान्ने भौतिक तत्वहरूको विकासको साथ आफ्नो मानवता प्रदर्शन गर्नुहुन्छ । उहाँको वास्तुकलामा काव्यात्मक प्रकृति छ जसले प्राकृतिक प्रकाशको अनुभूति, सतहहरू तथा रूपहरूको अन्तर्क्रिया र उच्च स्तरको नवीनता एवं व्यावसायिकताको साथ सबैलाई कार्यान्वयन गर्दै आफ्नो मूल पूर्वीय सौन्दर्य र आध्यात्मिकता प्रयोग गर्नुहुन्छ ।”
श्री याओको प्रख्यातिले उहाँको वास्तुकला अभ्यासको समृद्धि र विविधता प्रस्तुत गर्दछ । उहाँका प्राज्ञिक लेखहरू प्रायः अन्तर्राष्ट्रिय वास्तुकला पत्रिकाहरू र व्यावसायिक पत्रिकाहरूमा प्रकाशित हुन्छन् । सन् २०२२ मा उहाँलाई ८ औं भेनिस आर्किटेक्चर बिनालेमा “नेक्स्ट एक्जिट” को एकल प्रदर्शनीमा भाग लिन आमन्त्रित गरिएको थियो । त्यसयता पनि उहाँ थुप्रै अन्तर्राष्ट्रिय वास्तुकलाका गतिविधिहरूमा सामेल हुँदै आउनुभएको छ । उहाँको उत्कृष्ट एकल प्रदर्शनी “विदइन/विदआउट” सन् २०१६ मा चीनको सांघाई स्थित मोकामा आयोजना भएको थियो।